रिंकु सदा घटनाका मुख्य आरोपी रुपेशमाथि अदालतबाट दुई दिन म्याद थप
- सिरहासिरहा ।
सिरहाको नवराजपुर गाउँपालिका १ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदा घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो । अदालतबाट म्याद थप भएपछि उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । रुपेशलाई प्रहरीको विशेष टोलीले आजै बिहान सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरेको थियो ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अन्य तीन जना गत फागुन ११ गते नै पक्राउ परिसकेका छन् ।