काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजतन्त्र समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन् । मोटरसाइकल र्यालीसहित नेपालको राष्ट्रिय झन्डा बोकेर हिन्दुराष्ट्र, राजतन्त्रको पुनःस्थापना लगायत माग राख्दै राप्रपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । र्याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको छ । यसअघि, देशका विभिन्न शहरमा राप्रपाले प्रदर्शन सम्पन्न गरिसकेकोे छ ।
यसैबीच, राप्रपाको ¥यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ताहरु ¥यालीमा सहभागी थिए । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न क्षेत्रमा धार्मिक भ्रमणमा व्यस्त हुनुभएको छ । पूर्वराजा शाहले आज बागलुङको कालीका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पुजापाठ र दर्शन गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् ।