राष्ट्रिय सभाबाट पनि ५ अध्यादेश पारित
- काठमाडौंसरकारले जारी गरेका ५ अध्यादेश संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धि अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धि अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश बहुमतले स्वीकृत गरेको हो । त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश स्वीकृत भएको छ । जनता समाजवादी पार्टी नेपालको समेत समर्थन भएपछि राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत भएका हुन् ।
यसअघि प्रतिनिधिसभाले हिजो ५ वटा अध्यादेश स्वीकृत गरेको थियो । सरकारले भूमिसम्वन्धि अध्यादेशलाई रोक्दै अन्य ५ वटा अध्यादेश अघि बढाएको थियो । संसदमा पेश भएको एक महिनापछि अध्यादेश स्वीकृत भएको हो । दुवै सदनबाट स्वीकृत भएकाले अब प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया अघि बढ्नेछ ।