राष्ट्रिय

पाथिभर केबलकार विवादः विरोधमा रहेको समूहलाई पुनः वार्तामा आउन सरकारको आह्वान

- आनन्द गौतमताप्लेजुङ

सरकारले ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा रहेको समूहलाई फेरि वार्तामा वोलाएको छ । 

वार्ता समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षलाई सम्वोधन गर्दै वार्ताका लागि पत्र पठाउनुभएको हो । वार्ताकालागि ताप्लेजुङका स्थानीय प्रतिनिधिलाई समेत बोलाइएको छ ।

 पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्वादको माध्यमवाट समस्याको शान्तीपूर्ण समाधानका लागि सम्वन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी माघ २२ गतेदेखि निरन्तर वार्ता भइरहेको स्मरण गराइएको छ । 

आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, साँस्कृतिक, तथा स्थानीय समुदायका मागका सम्वन्धमा सरोकारवालासँग वार्ता र संवादको माध्यमवाट समस्याको शान्तिपूर्ण समाधानका लागि पहल गरिने पत्रमा उल्लेख छ । आन्दोलनरत समूहले भने मन्त्रीस्तरिय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ हुनुपर्ने तथा केबलकार निर्माणको काम बन्द गर्नुपर्ने लगायत माग गर्दै आएका छन् ।