पाथिभरा केबलकार विवादः विरोधमा रहेको समूह र सरकारी टोलीबीच पुनः वार्ताको तयारी
- ताप्लेजुङताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको समूह र सरकारी वार्ता टोलीबीच पुनः वार्ताको तयारी भएको छ ।
सरकारी वार्ता टोलीले बोलाएको दुइदिन पछि विरोधमा रहेको समूहले वार्ताको तयारी गरेको हो । सरकारसँग छलफलका लागि वार्ता टोली भने गठन गरिएको केबलकारको विरोधमा रहेको समूहका प्रतिनिधि खगेन्द्र माखिमले जानकारी दिनुभयो ।
विरोधमा रहेको समूहले वार्ताका लागि विभिन्न माग राख्दै आएका छन् । यसअघि पक्राउ परेकाहरुको रिहाई हुनुपर्ने, केवलकार निर्माणको काम रोक्नुपर्ने, सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने लगायत उनीहरुको माग छ । सरकारी वार्ता टोली र विरोधमा रहेको समूहबीच यसअघि दुई पटक वार्ता भइसकेको छ ।
दोश्रो वार्तापछि सरकारले गठन गरेको सहसचिव स्तरीय समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने विरोधमा रहेका समूहको भनाइ छ । केवलकार निर्माणको विषयमा भएका विभिन्न घटनामा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् ।