राष्ट्रिय

ग्रेट हिमालय ट्रेलमा निस्किएको टोलीलाई ताप्लेजुङमा स्वागत

- आनन्द गौतमताप्लेजुङ

ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएको सिन्धुपाल्चोकका महिलाको टोलीलाई ताप्लेजुङ सदरमुकाम फुङलिङमा स्वागत गरिएको छ । सदरमुकाम फुङलिङका केही होटल व्यवसायीले उनीहरुलाई स्वागत गरेका हुन् । 

चार दिनअघि काठमाडौंबाट हिँडेका उनीहरु पाथीभरा दर्शन गरेर आइतबार बेलुका सदरमुकाम फर्किएका थिए । सोमबारदेखि ट्रेल रुटमा पर्ने कञ्चनजंघातर्फ लागेका छन् । 

सोमबार फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूसँग पर्यटनका विषयमा छलफल गर्ने टोलीको नेतृत्व गरेकी माया लिम्बूले जानकारी दिइन् । उनीहरु विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर पाङपेमा बेसक्याम्प भएर लुम्बासुम्बा पास गर्दै संखुवासभा जानेछन् । 

घुन्सा, ओलाङचुङगोला लगायतको क्षेत्रमा स्थानीयले उनीहरुको स्वागतको तयारी गरेका छन् । एक सय दिनमा दार्चुला पुगेर टुंग्याउने यात्राको क्रममा १७ जिल्ला भ्रमण गर्ने टोलीले जानकारी दिएको छ । टोलीमा १९ देखि ४३ वर्षका महिला छन् । सोमबार तापेथोकको सेकाथुमसम्म गाडीमा र त्यसपछि ट्रेकिङ सुरु गर्ने गुरुङले जानकारी दिइन् ।