राष्ट्रिय

एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शिक्षामन्त्रीको निर्देशन

- केएफएम डेस्क

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँगको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गर्नुभयो ।

यस वर्षको एसईई परीक्षा चैत ७ देखि १९ गतेसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने भएको छ । यस वर्ष ४९ हजार २ सय ८६ विद्यार्थी थपिएसँगै परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको छ ।