राष्ट्रिय

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

- केएफएम डेस्क

नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) थापालाई नियुक्त गरेको संचार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख हुनुहुन्थ्यो । 

आईजीपी वसन्त कुँवरले आजै अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । २०७९ चैत १० गते कुँवर नेपाल प्रहरीको ३० औं महानिरीक्षक बन्नुभएको थियो । उहाँ ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानु भएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । 

त्यस्तै, उहाँ २०६३ भदौ ८ गते डीएसपी बन्नुभएको थियो । २०७२ साउन ८ मा एसपी बन्नुभएका थापा २०७५ फागुन ६ मा एसएसपीमा बढुवा हुनुभयो । २०७९ असार १७ मा डीआईजी बन्नुभएका उहाँ २०७९ चैत ६ मा एआईजी बन्नुभएको थियो । नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।