सात नेपालीलाई मुक्त गरिदिन परराष्ट्रमन्त्री राणाको आग्रह
-परराष्ट्रमन्त्री डा. आरजू देउवा राणाले युक्रेनका विदेशमन्त्री एन्ड्री सीबीगालाई युक्रेनमा बन्धक बनाइएका सात जना नेपालीलाई मुक्त गरिदिन आग्रह गर्नुभएको छ । भारतमा आयोजित रायसिना डायलगमा सहभागी हुन गएकी मन्त्री राणाले आज समकक्षी विदेशमन्त्री सीबीगासँग युक्रेनले युद्धबन्दी बनाइएका ती सात नेपालीलाई रिहाई गरिदिन आग्रह समेत गर्नुभएको हो ।
जवाफमा विदेशमन्त्री सीबीगाले युक्रेनले उनीहरूको रिहाइ सुनिश्चित गर्न कानुनी प्रक्रियाहरू पालना गर्ने आश्वासन दिनुभयो । सो साइडलाइन वार्तामा परराष्ट्रमन्त्री राणाले नेपालले आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती हुन अनुमति नदिएको स्पष्ट पार्नुभएको थियो । त्यस्तै, मन्त्री राणाले सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को लागि नेपालको उम्मेदवारीको लागि युक्रेनको समर्थन माग्नुभएको छ ।