स्वर्गद्वारी गुठीपीडितको समस्या समाधन गर्ने मन्त्री अधिकारीको
-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्वर्गद्वारी गुठीपीडित किसानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री अधिकारीले गुठी संस्थान ऐन, २०३३ को संशोधन गरेरै भएपनि समस्या समाधान गर्ने बताउनुभएको हो ।
समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले ऐन संशोधनका निम्ति मस्यौदा भइसकेको दाबी गर्नुभयो । बैठकमा समिति सदस्य भानुभक्त जोशीले सरकार छिटो परिवर्तन हुने भएकाले भूमि समस्या समाधान आयोगले तीव्र रूपमा काम गर्न नसकेको उल्लेख गर्नुभयो । गुठीपीडित किसान संघर्ष समितिको नेतृत्वमा स्वर्गद्वारी गुठीपीडित मोही किसानहरुले गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् ।