राष्ट्रिय

गणतन्त्रवादी र राजावादी दल तथा समूहले भोलि काठमाडौंमा प्रदर्शन गर्ने

- केएफएम डेस्क

गणतन्त्रवादी र राजावादी दल तथा समूहले भोलि काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । मोर्चाको प्रदर्शन काठमाडौंको प्रदर्शनीमार्ग क्षेत्रमा हुने भएको छ भने राजावादी दल र समूहले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । 

यसैबीच, नवराज सुवेदी नेतृत्वको सयुंक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आन्दोलन कमाण्डर बनाएको बताइएको छ । आन्दोलनको तयारीबारे समितिले आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको थियो । यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सम्बद्ध सबै पक्षलाई अपील गरेको छ । 

आयोगले उत्पन्न परिस्थितिको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीलाई समेत आग्रह गरेको छ । आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन समेत आयोगले आग्रह गरेको छ ।