तीनकुने घटनाका दोषीलाई कारबाही गर्न राजनीतिक दलको माग
-
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको छ ।
एकीकृत समाजवादीकोे केन्द्रीय कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज विहान निरीक्षण गरेपछि बसेको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नु भएको हो । असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन्पर्ने उहाँको भनाई छ ।
फरक प्रसंगमा अध्यक्ष दाहालले आपराधिक गतिविधिमा संलग्न भएकालाई कडा कारबाहि गर्नुपर्ने बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता अपराधिक प्रवृतिको भएकाले नियन्त्रण गर्ने सही समय भएको उहाँले बताउनुभयो ।
राजावादीको आन्दोलन हिंसात्मकः एमाले महासचिव पोखरेल
सत्तारुढ एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनमा सहभागी भएर आपराधिक घटना संलग्न हुने र त्यसका लागि निर्देशन दिनेलाई कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ । राजावादीको आन्दोलन हिंसात्मक र अराजक भएको पनि पोखरेलको भनाइ छ ।
राजावादीले गरेको आन्दोलनमा सहभागीलाई आपराधिक घटनाका लागि उक्साउने कार्य भएको पोखरेलले बताउनुभयो । राजधानीमा हिजो भएका दुईमध्ये राजावादीको आन्दोलन उग्र भएको उहाँले बताउनुभयो । राजावादीका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरै भएपनि बुझ्ने मौका दिएको पोखरेलको भनाइ छ ।
तिनकुने, कोटेश्वर र जडीबुटमा भएका घटनाका संलग्नलाई कारबाही गरः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठकले काठमाडौंको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बैठकले उच्च न्यायिक छानबिन आयोग गठन गर्न समेत सरकारसँग माग गर्ने निर्णय गरेको हो । त्यस्तै, पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने निर्णय भएको छ ।