बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, विद्युत सेवा अवरुद्ध
- बझाङचट्याङले लागेर बझाङमा एक जना वृद्धाको मृत्यु भएको छ । दुई जना सामान्य घाइते भएका छन् । चट्याङले लागेर बित्थडचिर गाउँपालिका–३, की ७८ वर्षीया धौली बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
मृतकका नातिनी १४ वर्षीया जस्माकुमारी बोहरा र १३ वर्षीया पवित्रा बोहरा घाइते भएकी हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । भान्छामा काम गरिरहेको बेला घरमा चट्याङ लागेपछि धौलीको घटनास्थल मै मृत्यु भएको हो ।
यस्तै, हावाहुरी र चट्याङका कारण विद्युत सेवा पनि अवरुद्ध भएको छ । खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाईन अन्तर्गत बित्थडचिर गाउँपालिकाको सुनकुडा, स्याँडीमा क्षति पुर्याउँदा बुधबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा सुरु गर्न चैनपुर र बाग्थला वितरण केन्द्रका कर्मचारी हिजैदेखि खटिएको नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रले जनाएको छ ।