राष्ट्रिय

पहिरोले कार पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध

- माधव अर्यालपाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । शनिबार बिहान ४ बजेतिर खसेर पहिरोले एक कार समेत पुरिएको प्रहरीले जनाएको छ । 

कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको हो । बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपर समेत फसेको छ । दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।

यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेतिरबाटै सडक अवरुद्ध भएको स्याङ्जा गल्याङका चालक पिताम्बर भट्टराईले बताए । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । 

पाल्पाको सिद्धबाबा क्षेत्रको खसेको पहिरो पार गर्दै पाल्पा बाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ् लगायत गन्तव्यमा पुग्ने सवारी साधन गुड्छन् । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ ।