राष्ट्रिय

चितवनमा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, १० घाइते

- रमेशकुमार पौडेलचितवन

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सौराहामा जंगल सफारी गर्न हिँडेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार बिहान ५ बजे भरतपुर महानगरपालिका-४ सापकोटा चोक नजिक कारले ठक्कर दिँदा पैदलयात्री पर्साको सखुवा प्रसौनी नगरपालिका-२ का २५ वर्षीय लालबाबु पासवानको मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले जानकारी दिनुभयो ।

लिम्बुका अनुसार बा प्र ०६-००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो । गम्भीर घाइते पासवानको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको हो ।

त्यस्तै, आइतबार साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका-९ सिमलटाँडी चोकमा भारतीय ट्रक युपी ४० टी ३९५६ ले ठक्कर दिँदा खैरहनी-१ का ६४ वर्षीय केशवबहादुर कर्मचार्यको मृत्यु भएको छ । 

ट्रकले कर्मचार्यले चलाएको ना ४४ प १३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते कर्मचार्यको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, पर्यटकीय क्षेत्र सौराहामा जंगल सफारीमा जाने जीप पल्टिँदा जीपमा रहेका १० जना घाइते भएका छन्। प्रहरीका अनुसार ना ४ च ३३५५ नम्बरको जिप अनियन्त्रित भएर पल्टिँदा सौराहा घुम्न आएका आन्तरिक पर्यटक घाइते भएका हुन् । घाइतेमध्ये तीन जना सख्त घाइते छन् भने अन्यको अवस्था सामान्य छ । तीन जना घाइतेलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।