राष्ट्रिय

वीरगञ्जको मुख्य शहरी क्षेत्रमा हटेन निषेधाज्ञा

- केएफएम डेस्क

पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरको मुख्य शहरी क्षेत्रमा लगाएको निषेधाज्ञा आज पनि यथावत छ । प्रशासनले अर्को सूँचना जारी नहुन्जेलसम्मका लागि गत आइतबार मध्यरातबाट निषेधाज्ञा जारी गरेको हो । शनिबार बेलुका साढे ७ बजेदेखि लगाइएको कफ्र्यु आइतबार मध्यराति १२ बजे अन्त्य भएपछि प्रशासनले निषेधाज्ञा लगाइएको थियो । 

यसअघि पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रमा कफ्र्यु लगाइएकोमा अहिले सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिभर भेला, सभा, जुलुश तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । हनुमान जयन्तीको शोभा यात्राको क्रममा शनिबार वीरगञ्जको छपकैंया क्षेत्रमा झडप हुँदा सुरक्षाकर्मी, सर्वसाधारणसहित ४१ जना घाइते भएका थिए ।