वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन
- पर्सापर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार सा“झ वीरगञ्जमा प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्न खोज्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँबाट तितरवितर भएकाहरुले वीरगञ्जको घण्टाघर, आदर्शनगर चोक क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
साँझ करीब साढे ६ देखि साढे ७ बजेसम्म जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनकारी र नेपाल तथा सशस्त्र प्रहरी बीच घम्साघम्सी भएको थियो । प्रहरीले शनिबारको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई मंगलबार पक्राउ गरेपछि प्रहरी कारवाहीको बिरोधमा युवाहरुको समूह जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो ।
पक्राउ परेकाहरुलाई नछोडेसम्म धर्ना दिने भन्दै उनीहरु धर्नामा बस्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरी उपरीक्षक गौतम मिश्रले सर्वदलीय सर्वपक्षिय बैठकमा भएको पाँच बुँदे सहमति अनुसारनै घटनामा दोषी पाइएका ४ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
शेष खुर्सेद, सलाउद्दिन मिया ठकुराई, बजेट सिंह र रवि सर्राफ गरी ४ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो । ‘सीसीटीभी फुटेज लगायतका अन्य यथेष्ट प्रमाणहरुबाट घटनामा प्रत्यक्ष संलग्न पाइएकाहरुलँई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुरु गरेका हौं,’ उहाँले भन्नुभयो, ‘सहमति अनुसारनै प्रहरीले आफ्नो कारवाही अघि बढाएको हो, अन्य संलग्नहरुको पनि खोजी भईरहेको छ ।’
टायर बाली प्रदर्शन गरिरहेको क्रममा हालसम्म २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको लाठी चार्जको क्रममा स्थानीय सञ्चारकर्मीहरु अनिल ओझा र अर्जुन गुप्ता घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भईरहेको छ । वीरगञ्जको घडिअर्वा क्षेत्रमा पनि प्रदर्शन भएको थियो ।