विश्वको १० प्रतिशत हिउँ चितुवा नेपालमा रहेको तथ्याङ्क सार्वजनिक
- काठमाडौंविश्वका कुल हिउँचितुवा मध्ये १० प्रतिशत नेपालमा रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको हो । नेपालमा विश्वकै दुर्लभ मानिएको हिउँ चितुवाको संख्या तीन सय ९७ रहेको संघले जनाएको छ ।
नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिलोमिटर क्षेत्रफलमा हिउँचितुवाको बासस्थान रहेको छ । अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को संख्यामा हिउँचितुवा रहेको अनुमान छ ।
हिउँचितुवा बढीजसो नेपाल, चीन, अफगानिस्तान, भुटान, काजकिस्तान, कीर्गिस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान लगायत १२ वटा मुलुकमा पाइन्छन् ।
विश्व वन्यजन्तु कोषले पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विभिन्न संघसंस्थाको सहयोगमा सो तथ्यांक निकालिएको विश्व वन्यजन्तु कोष नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिनुभयो । तथ्यांक अनुसार चीनमा २ हजार ५ सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेका छन् ।