शिक्षकको माग चाँडो सम्बोधन गर्न सांसदको माग
-सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा एमाले सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताउनुभयो ।
एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले शिक्षकलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गत चैत्र २० गतेदेखि शुरु शिक्षकहरुको आन्दोलन जारी छ । सत्तारुढ दलकै नेताले समेत शिक्षकको मागप्रति सरकार उदासिन बनेको बताउँदै आएका छन् ।