मधेश बालिका सम्मेलन सुरु
-मधेशका ८ जिल्लाका करिव ६० जना बालिकाको सहभागितामा जनकपुरमा आजदेखि मधेश बालिका सम्मेलन सुरु भएको छ । सक्षम बालिका, समृद्ध मधेश नारा दिइएको दुई दिनसम्म चल्ने सम्मेलनमा मधेशका बालिकाले भोग्दै आएका बाल विवाह, भागी विवाह, दहेज र विभेदलाई चिर्न कार्यदिशा तय गर्नेछन् ।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले बालिका संरक्षणका लागि प्रदेश सरकार चुप लागेर नबसेको बताउनुभयो । सम्मेलनको उद्घाटन गर्दै मन्त्री जयसवालले समाजमा रहेका समस्याका कारण मधेशप्रति नाकारात्मक दृष्टिकोण बनेको बताउनुभयो । बालिकाको अधिकार र हकहितका लागि प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको र त्यसलाई नै टेकेर बेटी जिन्दाबाद कार्यक्रम कार्यान्वयन गर्न लागेको उहाँको भनाइ छ ।
प्रदेश सांसद एवं वालवालिका समितिकी सभापति रुपा यादवले विवाह गर्ने उमेर १८ वर्षमा झार्ने वहसको औचित्य नरहेको बताउनुभयो । छोरी पनि डाक्टर, इञ्जिनियर, राष्ट्रपति र नेता बन्न सक्ने भन्दै छोरी जन्मिएको भाष्य हटाउनु पर्ने उहाँको भनाइ थियो । जनकपुर उपमहानगरका प्रमुख मनोज साहले विवाहको उमेर २० वर्ष तोकिएपनि कमै उमेरमा भागेर विवाह गर्ने चलन बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।