राष्ट्रिय

अपहरणमा संलग्न नाबालकसहित ४ पक्राउ

- शंकर आचार्यपर्सा

युवक अपहरणमा संलग्न ४ जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा, वीरगञ्ज महानगरपालिका–१२ मुर्ली का २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् । 

साहको अपरहण भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार राति करीब पौने १० बजेतिर वीरगञ्ज–१२ मुर्लीस्थित एक घरबाट अपहरित साहलाई सकुशल उद्धार गरेको थियो । 

पक्राउ परेकालाई बुधबार पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।