राष्ट्रिय

सरकार र शिक्षकबीचको सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारीको आन्दोलन घोषणा

- केएफएम डेस्ककाठमाडौं

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । आगामी आइतवारदेखि कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने लगायत विरोधका कार्यक्रम परिषद्ले घोषणा गरेको हो ।

काठमाडौं केन्द्रित आन्दोलनपछि सरकारसँग भएको सहमतिपछि शिक्षकहरु विद्यालय फर्किन तयार भएपनि विद्यालय कर्मचारी परिषद्ले धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले शिक्षक महासंघको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमा बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाउनुभयो ।

निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकका लागि दुर्गम भत्ता लगायतमा अझै समस्या रहेको उहाँको भनाइ छ । पहिलो चरणको आन्दोलनको अवधिमा माग पुरा नभए जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने परिषद्ले जनाएको छ ।