वाणिज्य क्याम्पस र अटो इन्जिनियरिङ एसोसिएसनबीच सम्झौता
- तिलोत्तमारुपन्देहीस्थित बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन र लुम्बिनी वाणिज्य क्याम्पसबीच सम्झौता भएको छ । विद्यार्थीलाई इन्टर्नसीप लगायत विषयमा सहकार्यका लागि बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन र लुम्बिनी वाणिज्य क्याम्पसबीच सोमबार सम्झौता भएको हो ।
बुटवलस्थित क्याम्पसमा आयोजित कार्यक्रममा एसोसिएसनका तर्फबाट अध्यक्ष प्रेम प्रसाद गौचन र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
अनुसन्धान तथा तालिमको लागि व्यावसायिक क्षेत्रमा विद्यार्थीहरुको सहभागीता बढाउँदै लैजाने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
एसोसिएसनका लागि आवश्यक तालिम तथा अनुसन्धानमा लुम्बिनी वाणिज्य क्याम्पसले सहयोग गर्नेछ । यस्तै, विद्यार्थीहरुलाई इन्टर्नसीपको लागि इन्जिनियरिङ्ग एसोसिएसनले सहयोग गर्नेछ ।