मकालु हिमाल आरोहण गर्ने क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु
- संखुवासभाविश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा रहेको हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राति तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किने उनको क्रममा मृत्यु भएको हो । मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनी मार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए ।
मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै संखुवासभा उक्लिएका थिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन ।
मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अन्य फ्रान्सेली पर्वतारोहीहरु सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७ दिनको पैदल दूरीमा पर्दछ ।
यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रुपमा विकट मानिन्छ । मृतकको शव हेलिकोप्टर मार्फत् ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै सोमबार दिउँसो प्रहरी घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।