राष्ट्रिय

कमला नदीको काठेपुल बाढीले बगायो, आवागमन ठप्प

- विनय आजाद

हुलाकी सडकअन्तर्गत सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीको अस्थायी काठेपुल बाढीले बगाएको छ । सिरहा नगरपालिका–६ स्थित कमलामा रहेको काठेपुल आज बिहान आएको बाढीले बगाएको हो । बाढीका कारण हुलाकी सडकबाट आवागमन नै बन्द भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

पैदल यात्रीहरू भने पुल छेउमा रहेको भ¥याङबाट जसोतसो जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष इन्द्रजित कुमार यादवले बताउनुभयो । नदीमा पानीको वहाब कम भयो भने दीर्घकालिन उपाय अपनाउने उहाँको भनाइ छ ।

अस्थायी काठेपुल नगरपालिकाले ६ महिनाअघि करिब २ लाख रुपैयाँ खर्चेर निर्माण गरेको थियो । कमला नदीमा १३ वर्षअघि नै पुल निर्माण थालिए पनि अझै सम्पन्न भएको छैन ।