राजावादीले नयाँ चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै
- काठमाडौंपूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज नयाँ चरणको आन्दोलनको घोषणा गर्दैछ । एकअर्काको अस्तित्व स्वीकार्न नसकेका राजावादी नेताहरु आज एकै मञ्चमा उभिएर साझा आन्दोलनको घोषणा गर्न लागेका हुन् ।
पछिल्लो समय राजतन्त्र पक्षधरको आन्दोलन मत्थर हुँदै गएको टिप्पणी भइरहेका बेला समितिले नया चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा दिउँसो एक बजे राखिएको घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट सहभागी हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
यसअघि राप्रपा नेपालद्धारा आयोजित कार्यक्रममा पनि राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु सहभागि भएका थिए । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक भएपछि राजावादी आन्दोलनमाथि नकारात्मक टिप्पणी हुन थालेका छन् ।
सो प्रदर्शनलाई हिंसात्मक बनाएको भन्दै प्रहरीले दर्जनौ नेता कार्यकर्तालाई हिरासतमा राखेर विभिन्न मुद्धामा अनुसन्धानको क्रम जारी छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको मागसहित राजनीतिक मुद्दालाई थप सशक्त बनाउन समितिले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।