राष्ट्रिय

कानुन दिवस मनाइयो

- केएफएम डेस्क

कानुन क्षेत्रमा सरोकार राख्नेहरुले आज विविध कार्यक्रम गरि कानुन दिवस मनाइएको छ । वर्षेनी वैशाख २६ गते कानुन दिवस मनाउँदै आइएको छ । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चितताका साथ न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज ७३ औँ कानुन दिवस मनाइएको हो । २००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको सम्झनामा कानुन दिवस मनाउन थालिएको हो । सो ऐन २००९ साल पुस ८ गते राजपत्रमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा अहिलेको सर्वोच्च अदालतको स्थापना भएको हो । 

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले व्यवस्था गरेका मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै यसको संरक्षण, प्रवद्र्धन एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्नुभएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरिनुपर्ने बताउनुभयो । यस्तै, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फछ्र्यौटमा सुधार भएको बताउनुभएको छ । उहाँले समग्र मुद्दा फछ्र्यौट प्रतिशतमा समेत संख्यात्मक वृद्धि भएर पुराना बक्यौता मुद्दा समेत उल्लेख्य रुपमा घटेको दाबी गर्नुभयो ।