राष्ट्रिय

बालसुधार गृहमा तीन महिने अंग्रेजी भाषा सिकाई कक्षा

- रुपा गहतराजनेपालगञ्ज

बाँकेको नौबस्तास्थित बाल सुधार गृहका बालकहरुका लागि तीन महिने अंग्रेजी भाषा सिकाई कक्षा सञ्चालन गरिएको छ । अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले नौबस्तास्थित बाल सुधार गृहसँगको सहकार्यमा ४० जना कानूनी विवादमा परेका बालकहरुका लागि तीन महिने अंग्रेजी भाषा सिकाई कक्षा सञ्चालन गरिएको हो । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अग्रेजी भाषा कक्षाले बालकहरुको शैक्षिक स्तर अभिवृद्धिमा मद्दत पुग्ने भन्दै ब्यवहारमा उतार्ने गरी तालिमको भरपुर उपभोग गर्न बालकहरुलाई आग्रह गर्नुभयो । एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने अधिकारको सम्मान गर्दै अग्रेजी भाषा कक्षा सञ्चालन गरिएको बताउनुभयो । 

गृहमा रहेको बालकहरुको शैक्षिक स्तरमा वृद्धि गरी क्यारियर बनाउने र थुनामुक्त भए पछि समाजमा पुर्नस्थापनामा सहयोग मिलोस भन्ने उद्देश्यका साथ अग्रेजी कक्षा संचालन गरिएको उहाँको भनाई छ । अग्रेजी आषा सिक्दै गरेका बालकहरुले तालिम आफूहरुको लागि निकै फलदारी हुने जनाउँदै तालिम सञ्चालन गरेकोमा एडभोकेसी फोरमलाई धन्यवाद दिएका थिए । 

अग्रेजी विषयका शिक्षक वीरबहादुर चौधरीले दैनिक एक घण्टाका दरले तीन महिनासम्म बाल सुधार गृहमा रहेका कानूनी विवादमा परेका बालकहरुलाई भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो । 

बाल सुधार गुधार गृह नौवस्ताका प्रमुख श्याम रानाको अध्यक्षतामा भएको कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, प्रशिक्षक वीरबहादुर चौधरी, प्रहरी नायब निरिक्षक पदमबहादुर रोकाय लगायतको उपस्थिति रहेको थियो ।