पर्साको भिष्वा र वीरगञ्ज नाकामा कडाई
- पर्साभारत र पाकिस्तानबीच युद्ध चर्किएसँगै भारतीय सुरक्षा फौज एसएसबीले नेपालसँगको सीमा नाकामा कडाई गरेको छ । पर्साको भिष्वा नाकामा एसएसबीको टोलीले दुबै मुलुकतर्फ आवागमन गर्ने भारतीय तथा नेपाली नागरिकलाई कडाई गरेको हो । पर्सास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले बिहीबारदेखि नै एसएसबीले नेपालसँगको भिष्वा नाकामा कडाई गरेको बताउनुभयो ।
सो नाका जिल्लाको दोश्रो ठूलो स्थल नाका हो । छिपहरमाई गाउँपालिकामा रहेको भिष्वा बजारमा भारतीयहरु तथा सीमा पारी रहेको सिक्टा बजारमा नेपालीहरु किनमेल गर्न जाने गरेका छन् । ‘एसएसबिले भारतबाट नेपालतर्फ आउने भारतीय नागरिक तथा नेपालबाट भारततर्फ जाने नेपाली नागरिकको समेत परिचयपत्र अनिवार्य गरेको छ,’ उहाँले भन्नुभयो, ‘भारतीयको हकमा राशन कार्ड, आधार कार्ड, आदि अनिवार्य गरिएको छ ।’
डीएसपी सिंहले नेपालीको हकमा नागरिकता वा अन्य कुनै न कुनै परिचय खुल्ने परिचयपत्र हेरेर मात्र भारत प्रवेश गर्न दिइएको छ । सो नाकाबाट सर्वसाधारणको सवारी आवागमन पनि बिहीहबार देखिनै एसएसबीले बन्द गरेको छ ।
वैवाहिक समारोहको बेहुला वा बेहुलीको र जन्तीको गरी दुई वटा मात्र सवारी, एम्बुलेन्स, शव वाहन र विद्यालयका गाडी बाहेक सर्वसाधारणको सवारीको आवागमन बन्द गरिएको छ ।
देशकै प्रमुख स्थल नाका वीरगञ्जमा पनि शनिबारदेखि विशेष कडाई गरिने डीएसपी सिंहले बताउनुभयो । ‘हामीले विभिन्न प्रयोजनले भारत जाने नेपाली नागरिकलाई आफ्नो साथमा परिचयपत्र लिएर जान र सजगता अपनाउन भनि सचेत गरी रहेका छौं,’ उहाँले भन्नुभयो, ‘शनिबारदेखि नेपाल प्रवेश गर्ने भारतीयहरुको पनि परीचय पत्र पनि अनिवार्य रुपमा हेरिने छ ।’
हाल विकसित परिस्थितिमा भारतीय पक्षसँग प्रतिस्पर्धा गर्ने नभई आपसी समन्वय तथा सहकार्य गर्ने नीति रहेको पनि उहाँले बताउनुभयो । ‘भारतीय पक्षले कडाई गर्यो भनेर हामीले जवाफी रुपमा कडाई गर्न लागेको होइनौं,’ उहाँले भन्नुभयो, ‘भारतीय पक्षसँग समन्वय र सहकार्य गरेरै सीमामा निगरानी बढाउन लागेका हौं ।’