साउदीमा ४ सय ६९ जना नेपाली ८ महिनादेखि कामविहीन
- काठमाडौंसाउदी अरेबियाको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् ।
रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक काम विहीन भएका हुन् । दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा नलाग्दा समस्या देखिएको छ ।
कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । उनीहरुले आफूहरुलाई खान बस्न अप्ठ्यारो नभएपनि औषधिका लागि समस्या भएको बताएका छन् ।
गत डिसेम्बर २४ देखि कम्पनी पूर्ण रूपमा बन्द भएको दूतावासले जनाएको छ । श्रम काउन्सिलर कविराज उप्रेतीले उनीहरूलाई स्वदेश पठाउन अझै एक महिना लाग्न सक्ने बताउनुभयो ।