राष्ट्रिय

डा. विश्व पौडेलद्वारा गभर्नर सिफारिस समितिबाट राजीनामा

- केएफएम डेस्क

डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनु भएको छ । उहाँले आज राजीनामा दिनु भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ गते भएको सो समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिनु भएको थियो । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गर्नु भएको हो । दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी बनेको छ ।