राष्ट्रिय

रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु, एक घाइते

- पर्वत पोर्तेलविराटनगर

मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगीमा करेन्ट लागेर दुई जना महिलाको मृत्यु भएको छ । माइक राखिएको बाँस ढल्दा करेन्ट लागेर मंगलबार दुई महिलाको मृत्यु भएकोे प्रहरीले जनाएको छ । एक जना घाइते भएकी छन् । 

स्थानीय मंगललाल सिहका छोरा निरजको विवाह समारोहका लागि माइक बाँधिएको बाँस ढलेर हाईटेन्सन लाइनमा छोएपछि विद्युत प्रवाह भएर सो घटना भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाई गम्भीर घाइते भएकी थिईन् । 

उपचारको लागि रंगेली अस्पताल लगिएकोमा सोही दिन राति ९ बजे उपचारकै क्रममा दुबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जानकारी दिएको छ । घाइते राधा कुमारी सिंह पनि सामान्य घाइते भएकी छन् । 

उनलाई नगर अस्पताल झुर्किया ल्याई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी चौकी महादेवा र सिजुवाबाट टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।