प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
- काठमाडौंसंघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक आज बहुमतले पारित गरेको हो ।
संघीय संरचना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतसम्बन्धी आयोजनाको विकास, सञ्चालन, दायित्व तथा अधिकार र राजश्व बाँडफाँट गर्न कानुनी ढाँचा तयार गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । विधेयकमा सतह तथा भूमिगत जलस्रोतको उपयोग, संरक्षण र एकीकृत विकासका सिद्धान्तलाई कार्यान्वयन गर्ने नीतिगत मार्गचित्र पनि यसमा समावेश गरिएको छ ।
विधेयकमाथि छलफलको क्रममा ऊर्जामन्त्री खड्काले जलस्रोत ऐन, २०४९ को कार्यान्वयनका क्रममा देखा परेका समस्या, चुनौती र अवसरलाई समेट्दै तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी नयाँ विधेयक तयार भएको बताउनुभएको थियो । विधेयकको प्रारम्भिक मस्यौदा अघिल्लो सरकारको पालामा २०८१ जेठ अन्तिम साता संसदमा दर्ता भएको थियो ।