राष्ट्रिय

शिक्षा, युवा तथा खेलकुदमा तिलोत्तमाको लगानी र कार्य प्रशंसनीय

- सन्जु पौडेलतिलोत्तमा

शिक्षा, युवा तथा खेलकुदमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको लगानी र काम प्रशंसनीय छ । तिलोत्तमा हरेक कार्यमा अब्बल पालिकामा रुपमा स्थापित भएको छ । स्थानीय सरकार सञ्चालनका धेरै कार्यमा उत्कृष्टता हांसिल गरेको तिलोत्तमाले नीति तथा कार्यक्रम निर्माण, लगानी र प्रतिफलमा समेत राम्रो उपलब्धी हांसिल गर्दै आएको छ । 

नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सकारात्मक उपलब्धी त भएको छ नै, समग्र शिक्षा विकासमा समेत टेवा पुगेको छ । चालू आर्थिक वर्षका लागि ५६ वटा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने नीतिसहित अघि बढेको पालिकाले सामुदायिक विद्यालयको स्तरोन्नति तथा ती विद्यालयलाई अब्बल साबित गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । 

पालिकाले ६ वटा सामुदायिक विद्यालयमा इ–रिक्सा सञ्चालानार्थ २४ लाख रुपैयाँ छुट्याई प्रदान गरेको छ । त्यस्तै, १९ वटा विद्यालयलाई बस सञ्चालन गर्न इन्धन सुविधा बापत १÷१ लाखका दरले १९ लाख रुपैयाँ प्रदान गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्यालयको कक्षा ५ र ८ को परीक्षा सञ्चालन गर्नका लागि वार्षिक ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा २५ लाख कक्षा ८ को परीक्षाका लागि खर्च भयो भने १५ लाख कक्षा ५ का लागि । उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमका लागि पालिकाले २ लाख रुपैयाँ प्रदान गर्ने गरेको छ भने नगर प्रमुख छात्रवृत्ति कोष मार्फत १ सय ४७ जनालाई ५ हजारका दरले ७ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अध्ययन तथा अवलोकन भ्रमणका लागि ३ लाख रुपैयाँ प्रदान गरिएको छ । पढ्दै कमाउँदै शीर्षकको नवीनतम कार्यक्रमका लागि ३ लाख, विद्यार्थी च्यालेन्ज फन्डका लागि १ लाख ५० हजार रुपैयाँ छुट्याईएको छ । त्यस्तै, १ विद्यालय १ सृजनशिल कार्यक्रम अन्तर्गत पालिकाभित्रका ३ विद्यालय जनता माध्यामिक विद्यालय वडा नम्बर–१२, जनता मावि वडा नम्बर–१३ र पशुपती मावि वडा नम्बर–१५ रहेको आचार्यले जानकारी दिनुभयो । 

पालिकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि समेत बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । खेलकुदतर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिकाको महत्वपूर्ण कार्यक्रमका रुपमा रहेको छ । सो कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याईएको थियो । नगर प्रमुख फुटबल प्रतियोगिताका लागि पालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने अन्तरपालिका फुटबलका लागि २ लाख, शिक्षक भलिबल प्रतियोगिताका लागि २ लाख रुपैयाँ छुट्याइएको थियो । 

नगरमा रहेका प्रतिष्ठित मणिमुकुन्द भलिबल क्लबका लागि खेल सञ्चालानार्थ ७ लाख रुपैयाँ प्रदान गरिएको छ । हरेक वर्ष राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्दै अँएको मणिमुकुन्द भलिबल क्लबले यसवर्ष इन्डो नेपाल रात्रिकालीन प्रतियोगिता सम्पन्न गरेको छ । 

पालिकाभित्र रहेका क्लब मार्फत फुटबल खेल खेलाउन १० लाख रुपैयाँ बजेट प्रदान गरिएको आचार्यले बताउनुभयो । साथै विद्यार्थी एवं खेल शिक्षक प्रशिक्षणका लागि ५ लाख, नगरस्तरीय सुसंगठित प्रतियोगिताका लागि ५ लाख र वडा नम्बर–१० मा भएको कुस्ती प्रतियोगिताका लागि ३ लाख रुपैयाँ बजेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका युवालाई ऊर्जाशील र क्रियाशिल बनाउन पालिकाले स्थानीय तहसँग युवा संवाद कार्यक्रमका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको छ । 

युवा लक्षित कार्यक्रममा पालिकाका हरेक गतिविधिमा युवालाई सक्रिय सहभागी गराई उनीहरुको सल्लाह लिने, गुणस्तरीय प्रतिफलका लागि युवाको नवीनतम विचारलाई कार्यान्वयन गर्न सघाउने काम समेत पालिकाले गर्दै आएको छ । शिक्षा शाखा अन्तर्गत नै बालमैत्री कार्यक्रम सञ्चालनका लागि पालिकाबाट १० लाख तथा वडागत तहबाट बालमैत्री कार्यक्रम गर्न ३४ लाख रुपैयाँ विनियोजन भएको शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाले बालविकास कक्षालाई सुविधा सम्पन्न कक्षाको रुपमा विकास गरी सुधार गरेको छ । पालिकाले सञ्चालन गरिरहेको दीवा खाजा कार्यक्रमलाई शिक्षा क्षेत्रमा पहुँच वृद्धि तथा स्थानीय सरकार सबैका लागि रहेको महसुस गराइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । उहाँले दिवा खाजा कार्यक्रममा सरकारले प्रदान गर्ने गरेको १५ रुपैयाँमा १० रुपैयाँ नगरले जोडेर २५ रुपैयाँका दरले प्रदान गरिरहेको जानकारी दिनुभयो । त्यति मात्र नभई कक्षा ६ का विद्यार्थीलाई सरकारले खाजा बापतको बजेट नदिने निर्णय भइसकेपछि पालिकाले आफ्नै बजेटबाट खर्च गर्नेगरी पालिकाभित्रका ४२ वटा सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्ने विद्यार्थीलाई समेत खाजा सुविधा प्रदान गरिरहेको उहाँले बताउनुभयो । ‘यसले विद्यार्थीले पढाई छोड्ने दर घट्नेछ, शिक्षाप्रति अभिभावकको जागरुकता बढाउँदै लैजान मद्दत पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘शिक्षामा गुणस्तर कायम हुनेछ ।’ 

माध्यमिक शिक्षा प्राप्तिको लागि शैक्षिक जगतमा सरकारले हेर्ने दृष्टिकोण कमजोर छ भन्ने मिथ हटाउन पनि स्थानीय तहले शिक्षाको क्षेत्रमा लगानी गरिरहेको अर्यालको भनाई छ । नगरप्रमुख छात्रवृत्ति कोषबाट दिइने बजेटले पनि विद्यार्थीको पठनपाठनलाई सघाएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार तिलोत्तमा युवामैत्री पालिका बन्ने अन्तिम तयारीमा छ । पालिकाले आफ्नो नीति तथा कार्यक्रममै युवामैत्री कार्यक्रम अघि सारेको छ । ‘पालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रममा युवाको सहभागिताले अपनत्व बोध गराउने काम गर्छ,’ उनी भन्छन्, ‘हामीले युवालाई सरकारको कामबारे जानकारी प्रदान गर्न इन्टनसीप कार्यक्रम नै ल्याएका छौं । यसमा २० जना युवाले प्रत्येक वडा र नगरभित्रै बसेर काम हेर्नेछन् र सिक्नेछन्, उनीहरु मध्येबाट ३ जनाले पालिकामा काम गर्नेछन् र उनीहरुलाई यो अवधिभरि खाजा र यातायाता खर्चको सुविधा उपलब्ध समेत गराइनेछ ।’

यो तालिमले उनीहरुलाई निजामती कर्मचारी बन्ने बाटोमा पुग्न सघाउने विश्वास अर्यालको छ । यो कार्यक्रमबाट राज्यले प्रदान गर्ने सेवा सम्बन्धमा जानकारी होस्, सरकारी सेवा सम्बन्धी सानो उमेरदेखि नै सकारात्मक मनोशक्ति निर्माण होस् र सार्वजनिक सेवा उत्प्रेरणा पब्लिक सर्भिस मोडुलेशनमा युवाको रुचि कायम होस् भन्ने हेतुले लागू गरिएको प्रमुख प्रशासकीय अर्यालले जानकारी दिनुभयो । 

युवा र खेललाई जोडेर विभिन्न उत्सव, प्रतियोगिता समेत गर्दै आएको नगरपालिकाले खेलकुद विकास समिति मार्फत खेल गतिविधिलाई अघि बढाएको र ग्रास लेभलदेखि नै खेलाडी उत्पादनको सोंच बनाई लगानी गरेको उहाँले जिकिर गर्नुभयो । ‘कामका हिसाबले हामीले गर्न सक्ने बजेटको पर्याप्ततालाई ख्याल गर्दै प्रयास गरिरहेका छौं,’ उनी भन्छन्, ‘आगामी वर्ष थप परिस्कृत ढंगले यसवर्ष छुटेका र गराईको क्रममा सिकेका विषय समेट्नेछौं ।’