पेस्तोलसहित रुपन्देहीबाट दुई युवा पक्राउ
- बुटवलरुपन्देही प्रहरीले पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुर गाउँमा चलिरहेको महायज्ञमा युवतीलाई जिस्काएको निहुमा भएको झडपका क्रममा प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा नम्बर–५ मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन् । प्रहरीका अनुसार महायज्ञमा पुगेका युवाको समूहले युवतीलाई जिस्क्याएपछि बढेको विवाद झडपमा पुगेको हो ।
स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय युवा र वडा नम्बर–५ मोहसड गाउँबाट आएका युवाबीच शनिबार राति विवादपछि झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार महायज्ञ जेठ २ गतेदेखि सुरु भएको हो ।
पछिल्ला दिनमा मोहसडबाट आएका केही युवा रातिको समयमा विवाद गर्दै आउने गरेका थिए । घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन् । उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्यैया बानियाका स्वकीय सचिव हुन् ।
उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल समेत बरामद गरिएको बताउनुभयो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।