राष्ट्रिय

कञ्चन गाउँपालिकाले पर्यटकीय स्थलको प्रवर्धन गर्न चित्रकला प्रदर्शनी गर्दै

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको कञ्चन गाउँपालिकाले पर्यटकीय र पुरातात्विक सम्पदाको प्रवर्धन गर्न चित्रकला प्रदर्शनी आयोजना गर्ने भएको छ । पालिकाभित्रका पर्यटकीय, धार्मिक, संँस्कृतिक एवं पुरातात्विक सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गरिन लागेको हो । 

नेपाल ललितकला प्रतिष्ठान काठमाडौंसँगको सहकार्यमा जेठ अन्तिम सातादेखि चित्रकला प्रदर्शनी गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई दिनसम्म चल्ने सो कार्यशालामा राष्ट्रिय तथा स्थानीय गरी २० जना कलाकारको सहभागितामा रहनेछ । गाउँपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित विषयवस्तुको चित्रकला क्यानभासमा उतारिने गाउँपालिकाले जनाएको छ । 

पालिकाको समग्र सम्पदाको प्रचारप्रसार, संरक्षण एवं सम्वर्धन गरी आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रभावकारी बनाउन कार्यशाला गर्न लागेको गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो । 

कञ्चन गाउँपालिकाको वडा नम्बर–१ स्थित गजेडी (दानापुर) ताल परिसरमा आयोजना गर्न लागिएको सो चित्रकला कार्यशाला मार्फत सिर्जनशीलताको विकाससँगै पर्यटन प्रवर्धन गर्न थप सहयोग पुग्ने अपेक्षा लिइएको अध्यक्ष ढकालको भनाई छ । 

यस प्रदर्शनीका लागि २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो । यस कार्यक्रमबाट स्थानीय तथा बाहिरदेखि आउने नागरिकले कन्चनको समग्र परिचयसँगै त्यहाँ भएर पनि गुमनाम रहेका धेरै स्थलबारे जानकारी लिन सक्ने उहाँको भनाई छ ।