मधेश प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्ने सरकारको निर्णय
-गणतन्त्र दिवसको अवसर मधेस सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्ने भएको छ । गृह, सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीले यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा एक भब्य समारोहका बिच यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान सहित अभिनन्दन गरिने जानकारी गराउनु भएको हो ।
सञ्चार मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र प्रदेशका आठ वटै जिल्ला स्थित नेपाल पत्रकार महसंघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामावली उपलब्ध गराउन आग्रह समेत गर्नु भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइदंैछ ।