राष्ट्रिय

विद्यालय शिक्षा विधेयकमाथिको छलफल एक साताका लागि स्थगित

- केएफएम डेस्क

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समय मागेपछि विद्यालय शिक्षा विधेयकमाथिको छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एक साताका लागि स्थगित गरेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफलका क्रममा शिक्षामन्त्री पन्तले शिक्षकसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको थियो । शिक्षकसँग वार्ता गरी उनीहरुको मागलाई विधेयकमा समावेश गर्न उहाँले ७ दिनको समय माग गर्नुभएको थियो । 

समितिले सरकारले माग गरेको समय दिने निर्णय गरेको सभापति अम्मरबहादुर थापाले बताउनुभयो । उपसमितिले तयार पारेको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएपछि मन्त्री पन्त शिक्षकको मागका विषयमा गम्भिर बन्नुभएको हो । विधेयकले विगतमा भएका सहमति सम्बोधन गर्नुपर्ने नेपाल शिक्षक महासंघको माग छ । संविधानको व्यवस्था र राज्यको आर्थिक अवस्था हेरेर शिक्षकका जायज माग पूरा गर्न सकारात्मक रहेको मन्त्री पन्तले बताउँदै आउनुभएको छ ।