सीप उत्सव २०८२ मा तीन युवा स्कील्स् आइकन्स घोषित
-युवालाई श्रमजन्य गतिविधिमा सम्मान भाव जगाउने उद्धेश्यका साथ विराटनगरमा आयोजना गरिएको सीप उत्सव २०८२मा तीन जना स्कील्स् आइकन्स् घोषित भएका छन् । औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अपे्रन्टिससिप तर्फका होटल म्यानेजमेन्ट, अटोमोबाइल तथा आईटी क्षेत्रका युवाबीच प्रतिस्पर्धा भएको हो । कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीबीच ३ जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् । उत्कृष्ट हुनेमा अटोमोबाइल तर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयका विवस कोइराला र आईटी तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ छन् ।
सीप उत्सव कार्यक्रममा वृत्ति परामर्श र विभिन्न पेशाकर्मीका सफलताका कथा, लगायत लाइभ ट्रेनिङ गराइएको थियो । कोशी प्रदेश भित्रका प्राविधिक व्यावसायिक शिक्षा र तालिम क्षेत्रमा सहभागी युवाबीच गराइएको प्रतिस्पर्धामा आधारमा छनोटमा परेका युवालाई सीप उत्सव २०८२मा सहभागी गराइएको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले बताउनुभयो । कार्यक्रमले युवाहरुमा सीप सिक्नका लागि पे्ररणा जागेको इन्स्योर परियोजनाका घनश्याम लिम्बुले बताउनुभयो । श्रम प्रति सम्मान भाव जगाउने उद्धेश्यको यो कार्यक्रम अझै परिष्कृत गर्दै जाने स्कील्स् आइकनका योजनाकार अजिप चापागाईले बताउनुभयो । उद्योग संगठन मोरङ तथा इन्स्योर परियोजनाले कार्यक्रमको संयुक्त आयोजना गरेको हो भने सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले समन्वय गरेको थियो ।