राष्ट्रिय

व्यवस्था विरुद्धका गतिविधिप्रति गम्भीर हुन राष्ट्रियसभा सदस्यको सुझाव

- केएफएम डेस्ककाठमाडौं

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको गतिविधिप्रति गम्भीर हुनुपर्ने बताएका छन् । जनताको त्याग र बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठाएर अराजकता सृजना खोजिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

एमालेकी सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाएर मिथ्या आरोप लगाउनु सामान्य नभएको बताउनुभयो । अहिलेको अवस्थामा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

यसैबीच, माओवादी केन्द्रका सांसद भुवनवहादुर सुनारले अझै पनि विभेदका घटना भएको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभामा बोल्दै उहाँले उत्पीडन घटनाबारे संसदीय समिति बनाउनुपर्ने बताउनुभयो ।

विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरेपनि राष्ट्रिय सभाको बैठक भने बस्दै आएको छ । राष्ट्रिय सभाको भोलिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु हुने संसद सचिवालयले जनाएको छ ।