सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा
-सार्वजनिक सवारी साधन नचल्दा देशका विभिन्न भागमा सर्वसाधारण मर्कामा परेका छन् । यातायात व्यवसायीले आफूहरुको माग पुरा नभएसम्म गाडी नचलाउने अडान राखेका छन् । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा यात्रुलाई समस्या भएको छ । काठमाडौंका सडकमा साझा यातायात, मयुर यातायात र केही ट्याक्सी मात्र चलेका छन् । हिजो मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले सार्वजनिक सवारी साधन नचलाएका हुन् ।
यसैबीच, सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने तयारी गरेको छ । सरकार र यातायात व्यवसायी सम्मिलित कार्यदलले गएराति छलफल गरी ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति बमोजिमको पत्र बुझाउने तयारी गरेको हो । सरकारले नियमावली स्थगनको सहमति प्रदेश सरकारलाई बुझाएपछि र स्थगन भएको घोषणा भएपछि यातायात सञ्चालन गर्ने महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।