राष्ट्रिय

सहभागीबीच विवाद हुँदा राजावादीको बैठक भाँडियो

- केएफएम डेस्क काठमाडौं

आन्दोलनको समिक्षा गर्दै आगामी कार्यक्रम तय गर्न बसेको राजावादी दल र समूहको बैठक सहभागीहरुबीचको विवादका कारण विथोलिएको छ । नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको बैठकमा केही युवाले होहल्ला र विवाद गरेका थिए । उनीहरुको असन्तुष्टीकै विषयमा बोल्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हल्ला नगर्न आग्रह गर्नुभयो ।

समितिले आन्दोलनमा सहभागी विभिन्न दल र संघसंस्थाको सहभागितामा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तय भएको थियो । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नभएको विषयमा केही युवाले आवाज उठाएका थिए ।

 उनीहरुले अहिलेकै संसद चाहिने भए आन्दोलनको औचित्य नभएको भन्दै लिङदेन बैठकमा नआएको बिषयमा होहल्ला गरेका हुन् । बैठक सञ्चालन हुन नसकेपछि त्यहाँ उपस्थित एक धार्मिक अगुवाले तमाशा नदेखाउन भन्दै सहभागीलाई आग्रह गरेका थिए । होहल्ला र विवाद कायमै रहेपछि संयोजक सुवेदीले बैठक रोक्नुभएको थियो । छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने भन्दै उहाँले बैठक सकिएको घोषणा गर्नुभयो ।

बैठक सकिएपछि त्यहाँ उपस्थित केही युवाहरुले बुढा नेताबाट आन्दोलन हुन नसक्ने भन्दै छुट्टै भेला गरेको बताइएको छ । शुरुवाती दिनको तुलनामा आन्दोलनमा सहभागीता कम हुँदै गएका बेला राजावादी समूहको बैठक नै अवरुद्ध भएको हो । यसैबीच समितिले बैठकमा आन्दोलनको समिक्षा र भावी कार्ययोजनाबारे छलफल भएको दावी गर्दै आन्दोलनको स्वरुप परिमार्जन गर्ने भएको छ । समितिले काठमाडौं बाहिरका जिल्लामा समेत आन्दोलनका विभिन्न कार्यक्रम गरी फेरि उपत्यका केन्द्रीत आन्दोलन गरिने जानकारी दिएको छ ।