राष्ट्रिय

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध ज्यान मुद्दामा उत्प्रेषण आदेश जारी

- केएफएम डेस्ककाठमाडौं

सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा उत्प्रेषण आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान हुने भएको छ । संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई भनेको हो ।

 सर्वोच्चले सापकोटाविरुद्ध परेको किटानी जाहेरीमा फौजदारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । अर्जुनकी श्रीमति पूर्णिमाया लामाले सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा दिएको किटानी जाहेरीमाथि अनुसन्धान सुरु गराइ पाउँ भनी सर्वोच्चमा १३ वर्षअघि अर्को रिट दायर गर्नुभएको थियो । त्यस्तै सापकोटाविरुद्ध मुद्दा चलाउन माग गर्दै २०७२ मा सुशील प्याकुरेललगायत मानवअधिकारवादीहरुले सर्वोच्चमा अर्को निवेदन दायर गर्नुभएको थियो ।

 सर्वोच्चले यी तीन रिटमाथि सुनुवाइ गर्दै सापकोटाविरुद्ध अनुसन्धान गर्ने आदेश गरेको हो । सर्वोच्चले पूर्णिमाया लामाद्वारा दायर रिट जारी गरेको हो भने पत्रकार कनकमणि दीक्षितको रिटमा मागदाबी नपुग्ने र प्याकुरेलको रिट खारेज हुने निर्णय गरेको छ ।