राष्ट्रिय

शिक्षकद्वारा राजनीतिक दलका शीर्ष नेतासँगको भेट तीब्र

- केएफएम डेस्क

नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयनमा पहल बढाउन राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट शुरु गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सोही क्रममा महासंघका प्रतिनिधिले नेपाली कांग्रेसका सभापति एर्व पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरेको बताउनुभयो ।

यस्तै अन्य दलका शीर्ष नेतालाई पनि भेटेर पहल बढाउन आग्रह गर्ने उहाँले बताउनुभयो । झन्डै एक महिनाको आन्दोलन पश्चात सरकार र महासंघबीच ६ बुदे सहमति भएको थियो । सो सहमतिलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकमाथि सहमति जुटाएर समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाइसकेको छ । 

उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा महासंघले भने आपत्ति जनाएको छ । सरकारले र महासंघबीच असार १५ गते विधेयक पारित गर्ने सहमति भएबमोजिम सरकारले काम अघि बढाएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको भनाइ छ । समितिमा विधेयकलाई लिएर भइरहेको छलफल एक साताका लागि स्थगित भएपछि शुरु हुन सकेको छैन ।