राष्ट्रिय

भारतबाट फर्किएका तीन नेपालीमा कोरोना संक्रमण

- अर्जुन शाहधनगढी

भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किदै गरेका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भारतबाट घर फर्किरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा आज एटीजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।

 कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष, धनगढी घर भएकी २४ वर्षीया महिला र कञ्चनपुरको पुनर्वास घर भएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको जोशीले बताउनुभयो । 

तीनै जनालाई होम आइसोलेसनमा पठाइएको उहाँको भनाइ छ । जोशीले नयाँ भेरियण्टको कोरोना हो या होइन भन्ने यकिन गर्न पीसिआरबाट परीक्षण गर्न उनीहरुको नमुना संकलन गरेर काठमाडौं पठाइएको छ ।