नेपाल दुरसञ्चार कम्पनीका वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा उनीविरूद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ भन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले १८ जना विरुद्ध मुद्धा दायर भएको जानकारी दिनुभयो ।
कम्पनीका तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान लगायतले मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरेको बताइएको छ । नयाँ बिलिङ प्रणाली खरिदमा अनियमितता भएको आरोपपत्रमा उल्लेख गरिएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।
दुरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक पौडेल समेतले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । त्यसका लागि चीनियाँ कम्पनीसँग २०६८ साल पुष ६ गते सम्झौता भएको थियो ।