राष्ट्रिय

सभामुख, कानुनमन्त्रीसहित प्रमुख सचेतकको बैठक निष्कर्षविहीन

- केएफएम डेस्क

संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । राजनीतिक दलहरूले आफ्ना अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दलहरू छुट्टै छलफल गरिरहेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक निराशाजनक रहेको बताउनु भयो । उहाँनिकट स्रोतका अनुसार उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक पहिलेभन्दा कमजोर रहेको बताउनुभएको हो । 

सभामुखले बोलाएको बैठकमा सहमति नजुटेपछि फेरि सत्तारुढ दल र विपक्षी दल लगायत छलफलमा जुटेका छन् ।