राष्ट्रिय

पतञ्जलिले रोक्यो करिब २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

- नारायण शर्मानवलपरासी

पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीले नवलपरासी पूर्वको दुम्कौलीमा कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै सुरु गरेको संरचना निर्माणको काम रोकेको छ । डेढ वर्षअघि करीब २७ बिघा जग्गा खरिद गरेर पतञ्जलीले गुरुकुल सञ्चालनको योजना अघि बढाएको थियो ।

रामदेवका सहयोगी आचार्य बालकृष्ण नेतृत्वको टोली नै आएर नारायणी किनारमा रहेको मेघापार्कमा कन्या गुरुकुल सञ्चालन गर्ने योजना बनाएको थियो । सो जग्गा देवचुली नगरपालिका–१ मा पर्छ । सिद्धकुमार एन्ड सन्स र सिद्धकुमार श्रेष्ठको नाममा दर्ता रहेको १७ बिघा जग्गा र त्यस आसपासको करिब १० बिघा ऐलानी जग्गाको संरचना पतञ्जलीले खरिद गरेको थियो । सो जग्गामा कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै बालकृष्णको निर्देशन अनुसार काम भइरहेको छ ।

नारायणी नदी किनारमा रहेको मेघापार्कनजिकै मध्यवर्ती क्षेत्र छ भने पूर्व दक्षिणा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । देवचुली–१ का वडाध्यक्ष कृष्ण केसीले योगपीठले जग्गा लिएको जानकारी पाएको तर रजिष्ट्रेसन पास गर्नका लागि आइनसकेको बताउनुभयो । आचार्य बालकृष्णको निर्देशन र इन्जिनियरको डिजाइन अनुसार केही भौतिक संरचना निर्माणको क्रममा रहे पनि हाल रोकिएको पतञ्जलीका तर्फबाट खटिएका व्यवस्थापक डोलराज गैरेले बताउनुभयो ।