राष्ट्रिय

निजी विद्यालयलाई कम्पनी वा गुठी दुवै तरिकाबाट सञ्चालन गर्न दिने सरकारको तयारी

- केएफएम डेस्ककाठमाडौं

सरकारले निजी विद्यालयलाई शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालयलाई गुठी वा कम्पनी सञ्चालन गर्न सहज हुने गरी प्रस्ताव पेश गर्नुभएको हो । 

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रलाई निषेध गरेर अगाडि बढ्न नसकिने भन्दै कम्पनी वा गुठीअन्तर्गत नै सञ्चालन गर्न दिने प्रस्ताव पेश गर्नुभएको हो । उहाँले नियमनमा भने कडाइ गर्नुपर्ने बताउनुभयो । यस्तै सरकारले प्रारम्भिक बालविकास शिक्षा ‘ईसीडी’लाई १ वर्षेको बनाउने प्रस्ताव गरेको छ । मन्त्री पन्तले ईसीडी दुई वर्षको बनाउँदा वार्षिक झन्डै २८ अर्ब खर्च बढ्ने भएकाले भार थेग्न नसकिने बताउनुभयो । त्यस्तै, बैठकमा मन्त्री पन्तले एसईईलाई प्रदेशबाटै सञ्चालन गर्ने प्रस्ताव पनि गर्नुभयो ।

यसैबीच, सो बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिमा हस्ताक्षर गरेको बताउनुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफूले हस्ताक्षर नगरेसम्म शिक्षक आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।