राष्ट्रिय

उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला

- रेडियो कान्तिपुर संवाददाताउदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको शव फेला परेको छ । स्थानीय २८ वर्षीय रबिन राई र १४ वर्षीया किशोरी मञ्जु राई आज बिहान मृत अवस्थामा फेला परेका हुन् । 

बेल्टारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन राईका अनुसार मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटरतल रबिनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । 

स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी पुगेर खोजतलास गर्दा रबिनको समेत शव भेटिएको राईले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी हरिहरनाथ योगीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिनुभयो । 

मृतक बालिका चौदण्डीगढी नगरपालिका–२ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र युवक रबिन केही दिनअघि मात्र काठमाडौंबाट घर आएको बताइएको छ ।